ओमानमाथि नेपालको कीर्तिमानले भरिएको जित

ओमानमाथि नेपालको कीर्तिमानले भरिएको जित


ग्लोब नेपाल
243
Shares

काठमाडौं । ब्याटिङमा कीर्तिमानी योगफल बनाएको नेपालले एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले ४६.३ ओभरमा नौ विकेट गुमाएर २२६ रनमात्र बनाउन सक्यो ।

पहिलो इनिङमा घाइते भएका कारण ओमानका अकिब इल्यास ब्याटिङमा नआएपछि नेपालले ८४ रनको जित निकालेको हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले अलराउन्डर कुशल मल्लको शतकप्रेरित ओमानविरुद्ध ३११ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले कीर्तिपुरमै भएको पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा २९७ रन बनाउनु नै अहिलेसम्मको ठूलो योगफल थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले मध्यक्रममा शतक बनाएपछि नेपालले निर्धारित ५० ओभर आठ विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो ।

रनको खाता नखोल्दै दुवै ओपनरलाई गुमाएको नेपालले ७२ रनमा शीर्ष चार ब्याटरलाई गुमाएको थियो । ७२–४ को कठिन अवस्थामा कुशलले आरिफ शेखसँग ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका कुशल ६४ बलमा नौ चौका र १० छक्कासहित १०८ रन बनाएर पभेलियन फर्किए । आरिफले टिमको खातामा २९ रन थपे ।

त्यसअघि ०–२ को अवस्थाबाट नेपालका कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । रोहित २३ रनमा आउट हुँदा भीम ३३ रनमा पभेलियन फर्किए ।

अन्तिममा सोमपाल कामीले अर्धशतक बनाएपछि नेपाल विशाल योगफलतर्फ अघि बढेको थियो ।

अन्तिमसम्म अविजित रहेका सोमपालले ४८ बलमा नौ चौकासहित ६३ रन बनाए । सोमपाललाई अन्तिमसम्म साथ दिएका करण केसीले १५ बलमा दुई चौका र एक छक्कासहित २९ रन जोडे । यी दुई नवौं विकेटका लागि ६१ रनको अविजित साझेदारी गर्दै नेपाललाई कीर्तिमानी योगफलसम्म डोहोर्‍याएका थिए ।

ओमानका आयान खानले दुई विकेट लिए । जतिन्दर सिंह, अकिब इल्यास, फयाज बट, जिसन मक्सुद, कलिमुल्लाह र बिलाल खानले समान एक विकेट लिए ।

ओमानका मुहम्मद नदिमले ६५ रन बनाए । सन्दीप गौडले ४६, आयान खानले २९, कश्यप प्रजापतिले २५, जतिन्दर सिंहले १५,आदिल सफिकले १३ र फजल बटले ११ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेटको कोसेढुंगा पार गर्ने बलर बने । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् ।

करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिदा ललितनारायण राजवंशीले एक विकेट हात पारे ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । यता, ओमानले भने पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए‘ नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।