काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा हङकङले यूएईलाई हराएकाे छ । शुक्रवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङले यूएईलाई डकवर्थ लुइस स्ट्रेन (डीएलएस) पद्धतिअनुसार ६७ रनले हरायाे ।
हङकङले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएर ब्याटिङ थालेकाे यूएईले २७ ओभरमा छ विकेट गुमाएर एक सय १७ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएपछि डीएसएस पद्धतिअनुसार हङकङ ६७ रनले विजयी भएकाे हाे । यूएईका लागि आर्यन लाक्राले नटआउट ५२ र रमीज शहजादले ३४ रन बनाए । हङकङका एहसान खानले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे हङकङले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६३ रन बनायाे । हङकङका लागि यान्सी रथले शतक बनाए । यस्तै किन्चित शाहले ३५ रन बनाए । यूएईका आयन अफजल खानले पाँच विकेट लिए ।
याे जितसँगै समूह ‘बी’ मा रहेकाे हङकङ दुई खेलमा चार अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ ।
एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
प्रतिक्रिया