बालाजुको कोतःधुकु पेट्रोल पम्पमा महानगरको सिल

बालाजुको कोतःधुकु पेट्रोल पम्पमा महानगरको सिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्डविपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो । 

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा आयल निगमलाई सोधेको थियो । 

पत्रको जवाफमा आयल निगमले मापदण्ड बाहिरको पेट्रोल पम्प हटाउन महानगरलाई साथ दिने धारणा व्यक्त गरेको थियो । जस अनुसार बिहीबार महानगरपालिकाले कोतःधुक सिल गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएकाे छ ।