तानसेनमा पाल्पा महोत्सव

तानसेनमा पाल्पा महोत्सव



पाल्पा । पाल्पाको पर्यटन क्षेत्रको विकास तथा घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने ध्येयले ‘पाल्पा महोत्सव २०८०’ सुरु भएको छ । महोत्सवमा तीन सय प्रदर्शनी कक्ष छन् । आन्तरिक पर्यटक अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।

महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले शुभारम्भ गर्दै देशमा अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको उल्लेख्य भूमिका रहने बताएका छन् । महोत्सवमा रु दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । पाल्पाली करुवा र रानीमहलको स्वरुपभित्र सचिवालय निर्माण गरिएको छ ।

कुटिर उद्योग, पाल्पाली ढाका उद्योग, बेकरिज र तन्दुरी आइटम, होटल, तथा विभिन्न गार्मेन्ट, कस्मेटिक, खाद्यान्न, अटोमोबाइललगायतका स्टल व्यवस्थापन गरेको स्टल रहेका छन् । ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रचारप्रसार संयोजक विदुर घिमिरेले बताए ।

पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा भएको महोत्सवमा जिल्ला समन्वय समिति पाल्पा, तानसेन नगरपालिका, कृषि ज्ञान केन्द्र पाल्पा र घरेलु तथा साना उद्योग कार्यालय पाल्पा सहआयोजक रहेका छन् । महोत्सव शुभारम्भका अवसरमा टोल विकास संस्था, सङ्घसंस्था, धार्मिक सङ्घसंस्था, व्यापारिक प्रतिष्ठानको सहभागितामा जनचेतनामूलक र्‍याली निकालिएको थियो ।

महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, कला केन्द्रद्वारा प्रस्तुत नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जनात्मक कार्यक्रम हुने सांस्कृतिक कार्यक्रम संयोजक भीमबहादुर श्रेष्ठले बताए । बिहीबारदेखि सुरु भएको महोत्सव यही वैशाख २४ गतेसम्म जारी रहने छ ।