काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक पार्टी केन्द्रीय समिति, नेविसंघ र तरुण दललाई पूर्णता दिने गृहकार्यमा जुटेकाे छ । सभापति शेरबहादुर देउवा निवासमा हिजाे बिहीबार पदाधिकारीबीच भएको अनौपचारिक छलफलमा आज शुक्रबारसम्म केन्द्रीय समिति, नेविसंघ र तरुण दललाई पूर्णता दिने समझदारी बनेको छ ।
पदाधिकारी बैठक आज शुक्रबार बिहान पुनः बस्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि गत मंसिरमा भएको निर्वाचन समीक्षा अहिलेसम्म नगरेको तथा पार्टी र प्रमुख भ्रातृ संगठनहरूका केन्द्रीय समितिलाई पूर्णता नदिएको भन्दै नेतृत्वको आलोचना बढ्दै गएका बेला पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
पार्टीभित्रका सबै गुट र समूहलाई समेटेर समितिहरू गठन गर्न नाम माग्दा संस्थापनइतरले नदिइएकाले अब नकुर्ने निष्कर्षमा सभापति देउवा पुगेको बताइएकाे छ । हलो अड्काएर सभापतिको थप बद्नाम हुन नदिन जति नाम आएका छन्, तिनैबाट नेविसंघ र तरुण दलको केन्द्रीय समितिलाई पूर्णता दिइने बुझिएकाे छ ।


प्रतिक्रिया