गोरखा । प्रसिद्ध शक्तिपीठको रूपमा रहेको गोरखाको गोरखानाथ मन्दिर परिसरमा आजदेखि २०औंँ सवा लाख रोट महोत्सव सुरु भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथलाई मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिन र यहाँको धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ।
गोरखनाथ मन्दिरमा दैनिकरूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २० वर्षदेखि महोत्सवकै रूपमा अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । आजदेखि ११ दिनसम्म चल्ने महोत्सवमा सवा लाख रोट गुरु गोरखनाथलाई चढाइने उनले बताए ।
गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरख गुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ । रोट, भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने गरेको छ । तत्कालीन नेपाल एकीकरणका समयमा सेनालाई प्रसादको रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्नाका साथै लामो समयसम्म युद्धमा भिड्न सकेको भनाइ शिलालेखमा उल्लेख छ ।
“ खाद्यवस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने परिकार हो”, संयोजक अकेलाले भने, “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” सानो सानो आकारमा तयार गरिने यो रोटलाई नाथ जातिका व्यक्तिहरूले शुद्व भई मन्त्र जप गरेर बीचको भाग उठाएर बनाउने गर्छन् ।
रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायत सबै सुविधा निःशुल्क उपलब्ध गराउने गरिएको उनले जानकारी दिए । भक्तजनका लागि भजनकीर्तन गर्नसमेत विशेष व्यवस्था गरिएको छ भने रोट पकाउन लागि दाउरालगायत अन्य बस्तुको पनि व्यवस्था गरिएको संयोजक अकेलाले बताए ।
महोत्सवले गोरखाको प्रचार–प्रसारका साथै जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । गोरखनाथ गुफा परिसरमा आयोजना हुने महोत्सवका अवसरमा भजनकीर्तन, चुँडा नृत्यसमेत हुने जनाइएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्न भारतलगायत देशका बिभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
रोट महोत्सवको पहिलो दिन आज बिहान गोरखा सदरमुकामको बसपार्कबाट निकालिएको कलश तथा रथयात्रा गोरखा दरबारको गोरखनाथ गुफासम्म पुगेको थियो । र्यालीमा विभिन्न कला, संस्कृति र पहिचान झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो । गोरखनाथ मन्दिरसम्म निकालिएको कलशयात्रामा एक सय आठ कन्या, नाथयोगी, भक्तजनलगायतको सहभागिता थियो ।
प्रतिक्रिया