राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम

राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दीपिन सिजापती प्रथम


ग्लोब नेपाल
135
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन् । वैशाख २३ गते शनिबार काठमाडौंको आरुबारीमा सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भएका छन् ।

यसै गरी भिजन गुरागाई, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरे । पुरस्कृत गजलकारहरुलाई कार्यक्रमका सभापति तथा प्रमुख अथिति लगायत अतिथिहरुले नगद, प्रमाण प्रदान गरेका थिए । पुरस्कृत गजलकारहरुमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना रु. २० हजार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरु गरिरहेको जानकारी दिए ।

नगरप्रमुख रिसालले मुलुकको भाषा, साहित्य र संस्कृति संरक्षणका लागि नगरपालिका सदैव क्रियाशील रहने बताउँदै गजल महोत्सवको सफलताबाट अरु उत्साह थपिएको बताए । कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजल बिधामा युवा पुस्ताको आकर्षण लोभलाग्दो रहेकोे गजल विधाको राम्रो सम्भावना रहेको बताए ।

कार्यक्रममा पूर्व मन्त्री रामेश्वर फुयाँल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसे लगायतका वक्ताहरुले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताए । मुलुकका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी गजल महोत्सवका लागि ४ सय ५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो ।

कार्यक्रममा आयोजक समितिका संयोजक गोविन्दप्रसाद घिमिरे वेदमणिले गजल महोत्सव आयोजनाको औचित्यबारे प्रकाश पारेका थिए । प्रतियोगितामा वाचन गरिएका गजलहरुको मूल्यांकनकर्तामा करुण थापा, प्रभाती किरण र घनेन्द्र ओझा रहेका थिए ।