नेता मुछिएपछि नक्कली शरणार्थी अनुसन्धान अवरुद्ध

नेता मुछिएपछि नक्कली शरणार्थी अनुसन्धान अवरुद्ध



नक्कली शरणार्थी अनुसन्धान ठुला नेता मुछिएपछि प्रभावित बन्न थालेको छ । प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले नेतृत्व गरेको अनुसन्धान एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरेपछि अबरुद्ध बनेको छ ।

यस अवधिमा धेरै नेता, नेतृ र नेतापुत्रको नाम जोडिए सामाजिक सञ्जालमा काटिएका चेकदेखि कुराकानीको अडियो समेत सार्वजनिक भएका छन् । प्रहरीलाई दिएको अनुसन्धानको समयसीमा अब दुई साताभन्दा बढी छैन ।

सामाजिक सञ्जालमा जसको नामको अडियो सार्वजनिक भएको हो, यदि त्यो प्रमाणित भए नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु समेत मुछिने छन् । अहिलेसम्म बिचौलिया र नेतापुत्र मात्र अनुसन्धानको दायरामा आएका छन् । एमाले सचिव रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लगातार तीन दिन तीन पटक भेट गरिसकेका छन् ।

अर्घाखाँचीको एउटा कार्यक्रम सकिएपछि फरार रहेका एमाले सचिव रायमाझी यतिबेला कहाँ छन् प्रहरीले भेउ पाउन सकेको छैन वा लुकाइएको छ, स्पष्ट भन्न सक्ने अवस्था छैन । ‘उच्च निगरानीमा’ राखेको भनिए पनि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग भेटेपछि रायमाझीलाई पक्राउ गर्न प्रहरी हच्किएको हो । राजनीतिक संरक्षणले गर्दा रायमाझी पक्राउ नपरेको जगजाहेर छ ।

नक्कली शरणार्थी बनाउन कांग्रेस र एमालेका दुई मुख्य एजेन्ट रहेको अनुसन्धानबाट खुलेको छ । कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालिन स्वाकीय सचिव केशव दुलाल र एमालेको तर्फबाट सानु भण्डारी खटिएका थिए । उनीहरुको बयानका आधारमा प्रहरीले नेताहरुलाई पक्राउको आदेश लिएको हो ।

सानु भण्डारीको बयान ‘स्केप’ गरेर प्रहरी अनुसन्धान एमालेतिर मात्र तेर्सिएको भन्दै अध्यक्ष ओली प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार छिरेको बताइएको छ । भण्डारीको डायरीमा नेतालाई बुझाएको रकमको निस्सा भेटिन्छ । उनले कुन–कुन नेतालाई रकम बुझाए डायरीमा उल्लेख गरेका छन् । उक्त डायरी प्रहरीले सुरक्षित राखेको छ ।

यदि यो अनुसन्धानले सार्थकता पाउने हो भने तत्कालिन गृहसचिवहरु प्रेमकुमार राई, महेश्वरप्रसाद सिंह र टेकनारायण पाण्डे मुछिन्छन् । राई यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त छन् भने पाण्डे प्रहरी नियन्त्रणमा आइसके ।

एमालेबाट पार्टी सचिव रायमाझी फरार छन् भने तत्कालिन गृहमन्त्री रामबहादुर थापा, उनीहरुका छोराहरुलगायतका अनुसन्धानकाे घेरामा छन् । यता, पार्टी अध्यक्ष ओलीमाथि पनि छानबिन हुनुपर्ने आवाज उठ्न थाल्यो । आज आइतबार बसेको एमाले संसदीय दलको बैठकमा रायमाझी र कोइरीबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदा अध्यक्ष ओली पटक पटक अड्केका थिए ।

उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई रकम बुझाउने एक महिला प्रमाणसहित सार्वजनिक भइसकेकी छन् । एमाले उपाध्यक्ष थापापछि गृहमन्त्री बनेका कांग्रेस नेता बालकृष्ण खाँण, नेतृ सुजता कोइराला, सांसद मञ्जु खाँण, आरजु राणा देउवालाई पैसा बुझाएकाे आराेप लागेकाे अडियो सार्वजनिक भएपछि अनुसन्धानमा तानिन सक्ने बताइएको छ ।

कर्मचारी र विचौलिया अनुसन्धानको दायरमा आइसकेका छन् । घटनामा संलग्न एकजना नेतालाई पनि प्रहरीले समातेको छैन । यसको अर्थ अनुसन्धान अब अगाडि बढ्दैन भन्ने लगाउन थालिएको छ । जसको नाम मुछिएको छ, उनीहरु नै संसदमा रोस्टममा उभिएर चर्को भाषण गरिरहेका छन् । यो परिवेशमा प्रहरीले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउँन कति सफल हुन्छ, त्यो हेर्न बाँकी नै छ ।