काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिएका हुन् ।
उनले यो आरोप निराधार र मिथ्या रहेको बताए । आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको प्रष्ट पारेका छन् ।
‘नेपाली नागरिकता र राहदानीका आधारमा बेलायतको राहदानी लिएको हुँ । अहिले एनआरएनए कार्ड बोकेको छु,’ आचार्यले लण्डनबाट भने, ‘यसमा भन्नु केही छैन् । देशको लागि केही गरौँ भन्नेलाई राम्रो कसैले मान्दैनन् । ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन । मिथ्यामात्रै हो ।’
उनले आफूलाई बदनाम गराउन एउटा समूह सक्रिय रहेकोसमेत आरोप लगाए । ‘२/४ जना मेरो विरुद्धमा अहिलेमात्र होइन पहिलेदेखि नै लागेका छन् । अनेकौं तिकड्म झिक्ने गरेका छन् । तर, यस्ता अफवाहले मलाई केही फरक पर्दैन्। झिनामसिना कुराका पछि लाग्ने मान्छे पनि म होइन,’ आचार्यले भने ।
आचार्य नक्कली शरणार्थी बनेर बेलायत पुगेको प्रचार सामाजिक सञ्जालहरूमा चलेको छ । ६ महिनासम्म एनआरएनएको नेतृत्व गरेका आचार्य बेलायतमा व्यवसाय गर्छन् । उनलाई एनआरएनए बेलायतकै अध्यक्ष प्रेम गाहा मगरले नक्कली शरणार्थी बनेर बेलायतमा शरण लिएको आरोप लगाएका थिए ।
मगरले एक टेलिभिजनसँगको अन्तरवार्तामा आचार्यले बेलायतमा स्थापित हुनकै लागि नक्कली शरणार्थी बनेको आरोप लगाएका थिए । सरकारले आचार्यको पद खारेज गर्नुपर्ने र उनीमाथि राष्ट्रघातको मुद्धा चलाउनु पर्ने माग समेत मगरले गरेका थिए ।
तर, आचार्यले भने यो सबै अफवाह भएको दावी गरेका छन्। उनले आफूसँग जन्मस्थान पर्वत लेखेको नेपाली राहदानी भएको बताए ।
‘म पर्वतमा पण्डितको परिवारमा जन्मेको छोरा हुँ । मेरो पहिलाको नेपाली राहदानीमा जनमस्थान पर्वत लेखेको छ,’ आचार्यले भने, ‘अहिले सरकारले दिएको एनआरएनए कार्डको आधारमा नेपालमा लगानी गरिरहेको छु । विदेशी भूमिबाटै भए पनि जन्मेको देशका लागि केही गरौँ भन्ने मेरो चाहना हो ।’
प्रतिक्रिया