सल्लाहकार सम्पादक आचार्यको बिदाई

सल्लाहकार सम्पादक आचार्यको बिदाई

निरन्तर सहयोग रहने प्रतिबद्धता


ग्लोब नेपाल
6.4k
Shares

काठमाडौं । यस ग्लोब नेपाल डट कमका सल्लाहकार सम्पादक डा. सुरेश आचार्य आजदेखि आफ्नो जिम्मेवारीबाट औपचारिक रुपमा अलग हुनु भएको छ। हालै नेपाली कांग्रेसले उहाँलाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै डा. आचार्य ग्लोब नेपालबाट अलग हुनु भएको हो। वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका आचार्य विगत तीन वर्षदेखि ग्लोब नेपाल डटकमको सल्लाहकार सम्पादक हुनुहुन्थ्यो। सोमबार उहाँलाई ग्लोब नेपालको कार्यालय अनामनगरमा प्रकाशनका प्रबन्ध निर्देशक तथा सम्पादक भानु दाहालले मायाको चिनोसहित विदाइ गरे ।

सोही क्रममा नेपाली कांग्रेसले दिएको जिम्मेवारी र ग्लोब नेपालसँगको आबद्धताले स्वार्थ बाझिने भएकाले अलग हुनुपरेको विदाइ कार्यक्रममा डा. आचार्यले बताउनुभयो । आउँदा दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासहित आचार्यले भन्नुभयो, ‘ग्लोब नेपालसँगको मेरो आत्मियता शब्दमा अभिव्यक्त गर्न सक्दिनँ, पदमा नरहे पनि यो संस्थालाई मेरो सहयोग निरन्तर रहनेछ ।’

प्रबन्ध निर्देशक तथा सम्पादक दाहालले नयाँ जिम्मेवारीमा पुग्नुभएका डा. आचार्यलाई बधाइ तथा शुभकामना दिए । ग्लोब नेपाल डटकमलाई अहिलेको अवस्थामा पुर्‍याउन उहाँले गरेको योगदानको प्रशंसा गर्दै निर्देशक दाहालले भने, ‘वरिष्ठ पत्रकार आचार्यलाई हामीले बिदाई गरेका होइनौं, उहाँ केही समयका लागि अलग हुनु भएको हो । उहाँ पार्टीको नयाँ जिम्मेवारीमा जानु भएको छ, जहाँ रहे पनि उहाँको सल्लाह र सुझावको हामी अपेक्षा गरिरहने छौँ ।’ बिदाई कार्यक्रममा ग्लोब नेपाल डटकमको व्यवस्थापन र सम्पादन समुहका सदस्यहरुको उपस्थिति थियो।

ग्लोब नेपाललाई व्यवसायिक पत्रकारितातर्फ डोर्‍याउन र छोटो समयमै आम पाठकमाझ लोकप्रिय बनाउन आचार्यको महत्वपूर्ण भूमिका रहेको छ ।