काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले नेता एवम् सांसद टाेपबहादुर रायमाझी अदालतमा उपस्थित हुँदा कत्ति पनि हिनताबोध गरेको अनुभूत पाइएन । क्यामराका अगाडि हात उठाएर मुस्कुराउँदै अदालत प्रवेश गरेको दृश्यले टोपबहादुर अभियुक्त होइन राजनेताको झल्काे दिन्थ्यो ।
यस प्रकरणमा टोपबहादुरलाई प्रहरीले प्रमाणका आधारमा पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले अभियुक्त बनाउँदा किन्चित हिनताबोध नगरेका टोपबहादुरमा कुन दम्भले मुहारमा मुस्कान छायो त्यो बुझिनसक्नु छ । सभामुख देवराज घिमिरेसँग टोपबहादुर वैशाख २० गते अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा अतिथिका रूपमा सहभागी थिए । त्यहि दिन उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो ।
त्यसपछि उनी बेपत्ता भए । भैरहवाबाट उनी सुनौली नाका हुँदै गोरखपुर पुगेको समाचारस्रोतको दाबी छ । उनलाई प्रहरीबाट पक्राउ हुनबाट जोगाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भरमग्दुर प्रयास गरेका थिए । अध्यक्ष ओलीले यही विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालसँग लगातार केही दिन परामर्श नै गरेका थिए । अन्ततः अध्यक्ष ओलीले टोपबहादुरलाई प्रहरीबाट जोगाउन सकेनन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक केशव दुलाल र ललितपुरका सानु भण्डारी भएको प्रहरीको दाबी छ । दुलालले कांग्रेस र सरकारलाई मिलाएका थिए भने भण्डारीले एमाले नेतृत्व र कर्मचारीलाई मिलाएका थिए । भण्डारीले नै टोपबहादुरको नाम लिएपछि प्रहरीले उनलाई पक्राउ पूर्जी जारी गरेको हो । टोपबहादुरमार्फत् नै पार्टी अध्यक्ष केपी शर्मा ओलीका निजी सहायक राजेश शाक्यसम्म पैसा पुगेको बताइएको छ । प्रहरीले सचिव टेकनारायण पाण्डेको मोबाइल डाटा रिकभर गरेपछि घटनामा नेता र कर्मचारीको संग्लना खुलेको थियो ।
प्रहरीबाट भागेर समस्या समाधान नहुने भएपछि एमाले अध्यक्ष ओलीकै सल्लाहअनुसार पार्टी र नेतृत्वलाई क्षति नपुग्ने हिसाबले टोपबहादुर सार्वजनिक भएका हुन् । प्रमाण नष्ट गरेर सार्वजनिक हुँदा आफ्नो र पार्टीको हित हुने निष्कर्ष टोपबहादुर र एमालेको छ । त्यसअघि उनले कानुनविज्ञ र आईटी विज्ञको सहयोगमा प्रमाण नष्ट गर्ने काममा लागेको बताइन्छ । उनलाई यो काम फत्ते गर्ने एक साताभन्दा बढी लागेको बुझिएको छ ।
टोपबहादुरले सरकारी वकिलको कार्यालयमा पाँच घन्टा लामो बयान पनि दिइसकेका छन् । सरकारी वकिलको कार्यालयका अनुसार उनको बयान अपरान्ह ४ देखि राति ९ बजेसम्म चलेको थियो । बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता ठाडै अस्वीकार गरेका छन् । वकिलकै गाइडलाइनमा उनले बयान दिएको बताइएको छ ।
बैशाख २७ गते बुधबार टोपबहादुरले विरामी विदा माग्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका थिए । प्रहरीले निवेदन दर्ता गराउने व्यक्तिमार्फत् ट्रयाकिङ सुरु गरेको थियो । टोपबहादुर शनिबार काठमाडौं आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी भूपेन्द्र खत्रीको भनाइ छ । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
हालसम्म प्रहरीले रायमाझीसमेत गरी सो प्रकरणमा मुछिएका १३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउपर्ने अन्यमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन् । सन्दीप रायमाझी भने टोपबहादुरका छोरा हुन् ।


प्रतिक्रिया