लन्डन । म्यानचेस्टर सिटी साविक विजेता रियाल मड्रिडमाथि समग्रमा ५ – १ गोलको सानदार जित हात पार्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
प्रिमियर लिग क्लब सिटीको मैदान इत्तिहादमा गएराति भएको सेमिफाइनल दोस्रो लेगमा रियाल ४-० को फराकिलो अन्तरले पराजित भयो । सान्टियागो बर्नाबेउमा भएको पहिलो लेग १ – १ गोलको बराबरीमा सकिएको थियो । अवे खेलमा भने कार्लोस एन्सेलोटीको टिमले फितलो प्रदर्शन गर्यो ।
२३ औँ मिनेटमै बर्नान्डो सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले केभिन डि ब्रुयनाको सहयोगमा गोल गरेका हुन् । ३७ औँ मिनेटमा सिल्भाले नै गोल गरेपछि पेप ग्वार्डिवालाको टोली पहिलो हाफमै २ – ० ले अघि रह्यो ।
दोस्रो हाफको सुरुवातमा रियालले सिटीलाई दबाबमा राखेको थियो । तर सिटी गोलकिपर एन्डरसनले डेविड आलाबा र करिम बेन्जिमाको प्रहारलाई बचाए । ७६ औँ मिनेटमा म्यानुएल एकांजीले गोल गरेपछि भने रियालको खेलमा फर्कने सम्भावना लगभग समाप्त हुँदा घरेलु समर्थकले जितको खुशीयाली मनाउन सुरु गरेका थिए । यो पटक पनि गोलका लागि डि ब्रुयनालेनै सहयोग गरेका थिए ।
इन्जुरी समयमा वैकल्पिक युलियन अल्काराजले चौथो गोल थपे । उनी अर्लिङ हालान्डको स्थानमा खेल सकिन एक मिनेट बाँकी हुँदा मैदान प्रवेश गरेका थिए । अल्काराजलाई ८४ औं मिनेटमा डि ब्रुयनालाई प्रतिस्पथापन गरेका फिल फोडनले पास दिएका थिए ।
सिटी दोस्रो पटक फाइनल पुगेको हो । यसअघि सन् २०२१ मा सिटी उपाधि भिडन्तमा प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीसंग पराजित भएको थियो । गत सिजन सिटी सेमिफाइनलमा रियालसंगै स्तब्ध बनेको थियो । अहिलेसम्म च्याम्पियन्स लिग जित्न नसकेको सिटी र इटालियन क्लब इन्टर मिलानबीच टर्कीको इस्तानबुलमा १० जुनमा प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया