ए डिभिजन लिग : मछिन्द्र र फ्रेन्ड्सको बराबरी

ए डिभिजन लिग : मछिन्द्र र फ्रेन्ड्सको बराबरी



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबले २–२ गोलको बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो ।

दोसो हाफमा रोमाञ्चक बनेको खेलमा गोल वर्षा नै भयो । प्रकाश बुढाथोकीले ६८औं मिनेटमा गोल गरेसँगै फ्रेन्ड्सले अग्रता लिएको थियो ।

त्यसको तीन मिनेट नबित्दै ओलावालो अफिजले गरेको गोलसँगै मछिन्द्रले बराबरी गर्‍यो । रफिक अमिनुले ७९औं मिनेटमा गोल गदैै पुनः फ्रेन्ड्लाई अग्रता दिलाए । तर, त्यसको चार मिनेट नबित्दै आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै साविक विजेतालाई हारबाट जोगाए ।

आजको खेलमा दुई गोल गरेका आफिज जारी लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले १५ खेलमा १४ गोल गरिसकेका छन् । यस्तै, दोस्रो स्थानमा खुमलटार एफसीका मेसुके ओलोमोउ छन्। उनले १७ खेलमा १३ गोल गरेका छन् ।

बराबरीसँगै मछिन्द्रले लिग लिडरसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । मछिन्द्र १९ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ । शीर्ष स्थानको १८ खेलबाट चर्च ब्वाइज युनाइटेडको ३३ अंक छ । दोस्रो स्थानको जावलाखेलको पनि समान खेलबाट ३१ अंक नै छ।

फ्रेन्ड्स १९ खेलबाट २१ अंक जोडेर १३औं स्थानमा छ । आजको खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले रेलिगेसन क्षेत्रबाट माथि उक्लिने मौका गुमाएको छ ।