ए डिभिजन लिग : आर्मीसँग फ्रेण्ड्स पराजित

ए डिभिजन लिग : आर्मीसँग फ्रेण्ड्स पराजित



काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा चर्च ब्वाईजले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो । जितसँगै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ भने फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ ।

यस जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेण्ड्सको समान २० खेलबाट २१ अंक भएको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा सुरुवाती अग्रता लिएको चर्च ब्वाईजले अग्रता कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । यससँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

लिगमा मंगलबार तीन खेल हुनेछन् । पहिलो खेलमा थ्री स्टार र नेपाल पुलिस तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।