दुवै खुट्टा गुमाएर पनि सगरमाथाको चुचुरोमा पुगेका हरिको काठमाडौंमा भव्य स्वागत

दुवै खुट्टा गुमाएर पनि सगरमाथाको चुचुरोमा पुगेका हरिको काठमाडौंमा भव्य स्वागत



काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको काठमाडौंमा भव्य स्वागत गरिएको छ । बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले अभिनन्दन समेत गरेका छन् ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।

सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका आरोहण गरेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।