एनआरटीले आर्मीलाई हरायाे, सङ्कटामाथि एपीएफकाे जित

एनआरटीले आर्मीलाई हरायाे, सङ्कटामाथि एपीएफकाे जित



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

आज बुधवार दशरथ रङ्गशालामा भएको खेलमा एनआरटीले १–० गोलले हरायो । एनआरटीका कृतिशरत्न छुँजुले गोल गरे । एनआरटी २६ अङ्कसहित तालिकाकाे आठौँ स्थानमा पुगेको छ । २९ अङ्क रहेको आर्मी पाँचौँ स्थानमा छ ।

आजै ललितपुरकाे च्यासल मैदानमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सङ्कटा क्लबलाई २–१ गोलले हरायो । एपीएफका आवाश लामिछानेले २ गोल गरे भने सङ्कटाका मनिष डाँगीले एक गोल फर्काए । एपीएफ २६ अङ्कसहित तालिकाकाे सातौँ र सङ्कटा २३ अङ्कसहित १२ औँ स्थानमा छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली ‘रेलिगेशन जाेन’ मा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।