काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा बिशेष समाराेह आयोजना गरिएकाे थियाे । सरकारद्वारा आयाेजित बिशेष समाराेहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलकाे भने उपस्थित भएन ।
प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन टुँडिखेलमा आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थ व्यक्तिलाई निम्ता दिने गरिन्छ ।
अघिल्ला बर्षमा काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको थियो । तर, यसपालि भने मेयर साह र उपमेयर डंगोल दुवै अनुपस्थित रहे । समारोहमा ललितपुरका मेयर चिरीबाबु महर्जन भने उपस्थित थिए ।
अघिल्ला वर्षहरूमा स्टेज व्यवस्थापनका लागि सरकारले महानगरलाई जिम्मेवारी दिने गरेकोमा यसपालि भने महानगर उक्त जिम्माबाट समेत पछि हटेको बुझिएको छ ।
बालेनले पछिल्लाे समय संघीय सरकारसँग असन्तुष्टि जनाउँदै आएका छन् । मेयर र उपमेयर दुवै गणतन्त्र दिवसका अवसरमा सोमबार टुँडिखेलमा आयोजित समारोहमा उपस्थित नहुनुको कारण भने खुल्न सकेको छैन ।
टुँडिखेलमा सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उस्थितीमा औपचारिक समारोहको आयोजना गरिएको थियो ।


प्रतिक्रिया