मलेसियाविरुद्ध नेपालको सहज जित

मलेसियाविरुद्ध नेपालको सहज जित



काठमाडौं । ब्याटिङमा सुधारिएको प्रदर्शन गरेपछि नेपालले मलेसियासँगको दोस्रो ट्वान्टी–२० खेलमा सात विकेटको सहज जित निकालेको छ । मंगलबार मलेसियाको बांगीमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७.३ ओभरमा तीन विकेट १०३ रन बनायो ।

सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन् ।

मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्रीले २, कविता कुँवर र इन्दू बर्माले एक-एक विकेट लिइन् ।