जिल्ला अदालतमा थुनछेक बहस सुरु

जिल्ला अदालतमा थुनछेक बहस सुरु



काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन् । इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय प्रदान गरेका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तयार गरेका छन् ।

दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले उनीहरुलाई थुनामै राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे निर्णय हुने छ ।

प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

यो प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ र फरार रहेकासहित ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।