सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने



काठमाडौं । सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि सोमबार दक्षिण अफ्रिका जाने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

यसअघि गत मङ्गलवार राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप टोलीसंगै जान पाएका थिएनन् । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टोलीसँग जान नपाएर छुटेका हुन् ।

सन्दीपलाई राष्ट्रिय टोलीका लागि खेल्न सहज होस् भन्दै उनका कानुनी सहयोगीहरुले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीपको दक्षिण अफ्रिका यात्रा सम्भव भएको हो ।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछ ।

आईसीसीले गरेको ड्र अनुसार नेपाल दुई पटकको विश्व विजेता वेष्टइण्डिज र आयोजक जिम्बावे सम्मिलित समूहमा परेको छ । समूह ‘ए’मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। त्यस्तै, नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ ।