गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्री दाहालले शुभारम्भ गर्ने

गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्री दाहालले शुभारम्भ गर्ने


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई गैरआवासीय नेपाली संघ एनआरएनएले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमवार प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकोमा धन्यवाद ज्ञापन गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसँग विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूंजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध भएको उल्लेख गर्दै एनआरएनए उपाध्यक्ष शर्माले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्नेमा विश्वास व्यक्त गरे । गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धीको कार्यविधि बनाई कार्यान्वयनको चरणमा पुर्याउन आग्रह गरे ।

साथै एनआरएनएले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत संबोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत अनुरोध गरेको छ । भेटका क्रममा उपाध्यक्ष शर्माले साना साना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी क्लिन इनर्जी तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा सुनिश्चित प्रतिफल सहितको लगानीको वातावरण बनाउन अनुरोध गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली संघ मार्फत धन्यवाद व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै लामो समय र रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणिकरण भएको बताए । साथै उनले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउंदै गैरआवासीय नेपालीहरुका सुझावलाई मनन गरिने बताए ।

उनले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले एक पटकको नेपालीले सधै नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको र अव नेपालका लागि केही गर्ने समय आएको बताए । प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत संबोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिदै छिटै कार्यान्वयनमा आउने जानकारी दिए ।

सोही अवसरमा पोर्चुगल, माल्टा र इराकमा यथासक्य छिटो दूतावास स्थापना गरी त्यहां रहेका नेपालीहरुका समस्या समाधानका लागि संघको प्रतिनिधिमंडलले ध्यानकर्षणपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।

यसै अवसरमा कानुन सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताए । सो अवसरमा महान्यायधिवक्ता डा. दिनमणी पोखरेलको समेत उपस्थिति रहेको थियो ।

भेटवार्तामा संघको प्रतिनिधि मंडलहरुमा संघका उपाध्यक्ष आरके शर्मा, संस्थापक भीम उदास, टि.बि कार्की (पुर्व उपाध्यक्ष), सचिव गोेविन्द प्रसाद गौतम , युवा संयोजक अब्दुल वासिद ,आईसिसि सदस्य भिमसेन थापा (पोर्चुगल), एनआरएनए कम्बोडियाका अध्यक्ष लाल सिंह खड्का,लोक तिवारी (युएसए) , बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत),जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,रोजगार मिडियाका सम्पादक ऊद्दव भट्टराईलगायतको उपस्थिति रहेको थियो ।