वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो

वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो



काठमाडौं । वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले आज यहाँ आयोजना गरेको मूलसमारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयमातहतका निकायमा वातावरणसम्बन्धी काममा दोहोरोपन हुन नहुने उल्लेख गरे । मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री महतोले भने, “परिणाम देखिने गरी कार्यदिशा र योजना आजैका मितिदेखि बनाउनुस् ।”

दक्षिण एसियाका प्रायः मुलुकमा युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको तथ्य उल्लेख गर्दै उनले प्रश्न गरे, “नेपालमा अझै पनि युरो–३ स्टाण्डर्डका सवारीसाधन किन आयात भइरहेका छन् ।”

मन्त्री महतोले पुराना र बढी धुँवा फाल्ने सवारीसाधन विस्थापित गर्ने, युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारी आयात हुने गरी एक हप्ताभित्र प्रतिवेदन तयार गर्न विभागलाई निर्देशनसमेत दिए । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यसवर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा वातावरणीय कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष उक्त दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भइसकेको बताए । उनले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा वातावरणसम्बन्धी विद्यमान ऐन, नियम र नीति परिमार्जनको आवश्कता रहेकाे बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालले प्रकृतिले मानिसलाई धेरै कुरा दिएको भए पनि मानिसकै क्रियाकलापका कारण प्रकृति कुरुप बन्दै गएकाले सबै सचेत हुनु आवश्यक रहेकाे बताए । उनले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनःप्रयोगमा जोड दिन आग्रह गरे ।

विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठूलो चुनौतीका रुपमा रहेको र यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट आवश्यक काम गरिरहेको जानकारी गराए । त्रिभुवन विश्वविद्यालयका प्रा डा रेजिना मास्केले प्लास्टिक बिना जीवन चल्न गाहे भइसकेको वर्तमान अवस्थामा प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि प्लास्टिकको पुनःप्रयोग पुनःचक्र्रण गरिनुपर्ने बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यस्ता दिवसले जनचेनता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै वातावरण संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा मन्त्री महतोले वायु गुणस्तर प्रतिवेदन, २०२१ पुस्तक विमोचन गरेका थिए । सो अवसरमा वातावरण संरक्षण तथा जनचेतनामूलक सामग्री प्रदर्शन गरिएको थियो ।