सुनकोशीमा खसेको गाडी र २ वटा शव भेटियो

सुनकोशीमा खसेको गाडी र २ वटा शव भेटियो



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिनमा भेटिएको छ । गाडीसँगै २ वटा शव पनि फेला परेको हाे ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्सपेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोरसहितको टोलीले खोजिरहेको थियो ।

गाडीसँगै २ वटा शव फेला परेको र शवको सनाखत हुन बाँकी छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो ।

चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।