मनसुन कहिले आइपुग्ला नेपाल

मनसुन कहिले आइपुग्ला नेपाल



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु दक्षिणी भारतको केरला आइपुगेको जानकारी दिएको छ । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो ।

केरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको र त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू भएको देखिएकाे मौसमविद् सञ्जीव अधिकारीले जानकारि दिए ।

केरला आइपुगेको मनसुनी वायु नेपाल भित्रिएपछि नेपालमा मनसुन सुरू हुन्छ । सामान्यत: केरलामा जुन १ मा मनसुनी वायु भित्रन्छ भने नेपाल आइपुग्न जुन १३ सम्म लाग्छ ।

मौसमविद् अधिकारीले हरेक वर्ष सोही मिति र अवधि लागू नहुने बताए ।

केरलामा आइसकेकाले मनसुनी वायु नेपाल आउन अब धेरै समय नलाग्ने बताइएकाे छ । केरलाबाट मनसुनी वायु बंगालको खाडी पुग्छ । त्यहाँबाट उत्तरपश्चिमतिर लागेर नेपालमा पूर्वी झापाबाट नेपाल छिर्ने महाशाखाले बताएकाे छ।

केरलाबाट नेपाल भित्रन कति समय लाग्छ भनेर यकिनका साथ भन्न नसकिने महाशाखाकाे ठहर छ ।

यसपालि केरलामै ८ दिन ढिला गरी मनसुनी वायु भित्रिएको छ । केरलामा आइसकेको हुनाले नेपालमा पनि मनसुनी वायु प्रवेशमा धेरै ढिला नहुने भएकाे हाे ।

केरलामा आइपुगेपछि महाशाखाले लगातार वायु कहाँनेर आयो हेरिरहने छ । १० दिनमा आउने वायु एक हप्तामै आइपुग्नेदेखि १५ दिनसम्म नआउने पनि हुने बताइएकाे छ । त्यसको वेग कति तीव्र हुन्छ, त्यसमा कुनकुन प्रक्रिया हुन्छ, वायु यात्रा गर्ने वायुमण्डल कस्तो छ, ती सबै कुराकाे आधारमा महाशाखाले मौसम पूर्वानुमान गर्ने छ ।

नेपालमा २०२० मा जुन १२ मा मनसुनी वायु आइपुगेको थियो । ०२१ मा ११ जुन र ०२२ मा ५ जुनमै मनसुनी वायु नेपाल भित्रिएको थियो ।