स्कटल्यान्डसँग नेपाल सात विकेटले पराजित

स्कटल्यान्डसँग नेपाल सात विकेटले पराजित



काठमाडौं । एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासरत नेपाली क्रिकेट टिम स्कटल्यान्डसँग सात विकेटले पराजित भएको छ ।

बिहीबार दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको हो ।

नेपालले दिएको १ सय ३६ रनको लक्ष्य स्कटल्याण्डले ३ विकेट गुमाएर २९ ओभरमा १ सय ३७ रन जोड्दै पूरा गर्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अल आउट हुँदै मात्र १ सय ३५ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रनको योगदान गरे ।

उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर आसिफ शेखले २८ रन बनाउँदा कुशल भुर्तेल १६ रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले तीन–तीन विकेट लिए । त्यस्तै शफ्यान शरिफले दुई विकेट लिँदा निल र हम्जा ताहिरले समान एक विकेट लिए ।

विश्वकप छनोटका लागि तयारीमा रहेको नेपालले अन्तिम तयारी स्वरुप दक्षिण अफ्रिकामा अभ्यासरत छ ।

नेपाली टोलीले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।