दुम्कौलीको अधिकतम तापक्रमको नयाँ रेकर्ड

दुम्कौलीको अधिकतम तापक्रमको नयाँ रेकर्ड



काठमाडौं । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले नयाँ रेकर्ड बनाएकाे छ । त्यहाँ अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको हाे । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ ।

मौसमविद वरुण पौडेलले दुम्कौलीको अहिले सार्वजनिक भएको अधिकतम तापक्रम हालसम्मकै उच्च भएको बताए । यद्यपि विभागले साँझ पौने ६ बजेमात्र मौसमको एकीकृत विवरण सार्वजनिक गर्ने भएकाले त्यतिबेलासम्म थप–घट पनि हुनसक्ने बताए ।

विभागका अनुसार यस वर्ष दुम्कौलीसँगै सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगाको अधिकतम तापक्रम हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

पूर्व, मध्य र पश्चिमका तराई–मधेशका जिल्लाहरुमा गर्मी अत्यधिक छ । केही जिल्लामा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।

यस वर्षको मनसुन भारतकाे केरला आइपुगेको र त्यो नेपाल आइपुग्न केही दिन लाग्ने भएकाले केही दिन गर्मीको अवस्था कायम रहने मौसमविदहरुको प्रक्षेपण छ ।