एएनए सम्मेलनमा ब्यापक महिला सहभागिता हुने

एएनए सम्मेलनमा ब्यापक महिला सहभागिता हुने



कोलोराडो/अमेरीका । एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को आगामी जुलाई १ र २ तारिख डेनभर कोलोराडोमा हुने ४० औं सम्मेलनको तयारी भव्य रूपमा अगाडी बढी रहेको जानकारी सम्मेलनका प्रमुख संयोजक विनोद त्रिपाठीले बताएका छन् ।

कोलोराडोमा सकृय संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नेपाली घर, अनेसास कोलोराडो शाखा, एनआरएनए कोलोराडो शाखा, कोलोराडो नेवाः खलः लगायतका संस्थाहरु संगको सहकार्यमा यो सम्मेलन हुन लागेको हो ।

विगतका सम्मेलनहरूमा झैं यस वर्ष पनि महिला सहभागिता बढाउन विशेष कार्यक्रमहरू राखिएका छन् । एनए सम्मेलन मूल कमिटीको डेपुटी कन्भेनर सरिता गुरुङ रहेकी छिन भने, शर्मिला शर्माको संयोजकत्वमा २७ सदस्यीय महिला समिति गठन गरिएको छ । धेरै भन्दा धेरै दिदी बहिनीहरूलाई पनि कार्यक्रममा संलग्न र समावेश गराउनका साथै एक आपसमा मेल मिलाप र थप प्रोत्साहन र प्रेरणा दिन यस समितिको ठूलो भूमिका रहेको छ ।

त्यसैगरि तारा अधिकारीको संयोजनमा जुलाइ १ तारिक शनिवार दिउंसो २ देखि ३.३० बजे सम्म हुन गई रहेको महिला मंचमा “अमेरिकामा नेपाली एकल महिलाका चुनौतीहरू” विषयमा गहन छलफल गरिनेछ । मंचमा साहसी महिला वक्ताहरूले आफुले सामना गरेका चुनौती र अनुभवहरू दर्शक माझ प्रस्तुत गर्नु हुनेछ भने विशेषज्ञहरूले सल्लाह र सुझावले समाधानको उपाय निकाल्न मद्दत पुग्ने छ । भविष्यमा अरू महिलाहरू माथि यस्तो परिस्थिति आई परेमा उनिहरूलाई जागरूकता र जानकारीमूलक संदेश दिन यस छलफल बाट सहयोग पुग्नेछ । मंचको सहजकर्तामा तारा अधिकारी र सरिता गुरुङ रहेका छन् ।

श्रुति पाण्डे संयोजक रहेको समितिले “मिसेज एएनए” सुन्दरी प्रतियोगिताको भब्य तयारी गरि रहेको छ । विवाहित महिलाहरूले आफुमा भएको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्नुका साथै आफ्नो आत्मविश्वास बढाउन यस प्रतियोगिताले थप हौसला दिनेछ। गत सम्मलेन बाट शुरू गरिएको मिसेज एएनए दर्शकहरूले निकै मन पराएका थिए ।

कार्यक्रमलाई आकर्षण र मनोरंजन बनाउन “फेसन शो” पनि राखिएको छ। यसको संयोजन आकृति अधिकारीले गरि रहेको छ।यस कार्यक्रममा नेपाली संस्कृति र पश्चिमी शैली झल्काउने विभिन्न पहिरनहरूको प्रदर्शन गर्दै यूवा र बालबालिकाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन ।मिसेज एएनए र फेसन शो १ तिरक शनिवार सांझ ७ बजे राखिएको छ । सम्मेलन बाट महिला सशक्तिकरण र महिला नेतृत्व विकासमा प्रोत्साहन र अवसर मिल्ने कुरामा आयोजक विश्वस्त छन् ।

सम्मेलनलाई भब्य रुपमा सफल पार्न एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा चयन गरिएको छ भने, सह संयोजकको रुपमा टिका पौडेल, राजु सिटौला, जगदीश ढकाल, सरिता गुरुङ, आर सी पन्त, अर्जुन बगाले तथा भुषन लाल श्रेष्ठलाई चयन गरिएको संयोजक त्रीपाठीले बताएका छन् ।