काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । सोमबारको अदालती समय सकिँदा ६ जना प्रतिवादीका कानुन व्यवसायीको बहस बाँकी थियो ।
सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित ६ जनाको बहस बाँकी रहेको थियो ।
खाणसहित पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ ।
मंगलबार खाणको पक्षमा बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन् । खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।
काठमाडौंका जिल्ला प्रेमप्रसाद न्यौपानेले थुनछेक बहस ९ दिनमा सक्ने गरी समय निर्धारण गरेका थिए । जसअनुसार उनले सरकारी वकिल तथा पीडितका कानुन व्यवसायीलाई ३ दिनको समय दिएका थिए । प्रतिवादी पक्षका कानुन व्यवसायीका लागि ६ दिनको समय दिएका दिए ।
न्यायाधीश न्यौपानेले निर्धारण गरेको समयअनुसार बहस भए मंगलबार प्रतिवादीका पक्षको प्रतिरक्षा बहस सकिनुपर्ने हो । मंगलबार प्रतिरक्षा बहस सकिएमा बुधबार सरकारी पक्षबाट जवाफी बहस हुनेछ ।
सरकारी पक्षको जवाफी बहसपछि अदालतले थुनछेक आदेश सुनाउनेछ । न्यायाधीश न्यौपानेले सरकार र प्रतिवादीका कानुन व्यवसायीको बहस र अभियोगपत्रको अध्ययन गर्दै पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छन् ।
थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म न्यायिक हिरासतमा बस्नुपर्ने छ । धरौटी माग गरेमा तोकिएको धरौटी बुझाएर रिहा हुने छन् । जिल्लाको निर्णय चित्त नबुझेमा उनीहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म जान सक्नेछन् ।
सरकारी वकिलको कार्यालयले सक्न भनेका छन् । गत बुधबारदेखि प्रतिवादीहरुको तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् ।
प्रतिक्रिया