राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।

उनलाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ । यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल स्रोतले उल्लेख गरेको छ ।

अहिले गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ । चिकित्सकहरुले मुटुको परीक्षणपछि बुधबार मात्रै उनलाई शीतल निवास फर्काउने बताएका छन् ।

पौडेललाई अस्पताल भर्ना गरिएकोबारेमा अहिलेसम्म राष्ट्रपति कार्यालयले औपचारिक रुपमा केही सार्वजनिक गरेको छैन ।