कालो मोसो प्रकरणमा नेविसंघ मोरङका सभापति पक्राउ

कालो मोसो प्रकरणमा नेविसंघ मोरङका सभापति पक्राउ



विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बुढीगंगा क्षेत्रबाट बुधबार पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान गर्न पोखरेललाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।‌

पोखरेलमाथि दुई दिनअघि सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मोसो दल्ने कार्यको नेतृत्व लिएको आरोप लागेको छ । कालो मोसो दल्ने कार्यमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी परेको थियो ।