परिभाषित प्रेम

परिभाषित प्रेम

कविता



तिमी यसरी नआउनु ;
जसरी आँसुका धाराले बोकीरहेछ प्रश्न
अतितको भारीसँगै

जसरी केही बिखालु अंहम दौडिरहन्छन्
गिड्न मेरो शिर

जसरी मौनताको घेरा बन्दीमा हराउँछ मान्छे
कोशिस विफल पश्चात्

बिन्ती , कदापि नआउनु यसरी तिमी

यदी तिमी आउँनु नै छ भने
यसरी आउनु ;

जहाँ निर्मल समयले सिकाइरहनेछ पाठ
जिन्दगीको आरम्भ देखि अन्नतसम्म

जहाँ परिशुद्ध प्रेमले जताइरहनेछ बिछोड
सँगैको कोमल सान्निध्य

जसरी ओजन लेयरले अँगालो हालि बचाइरहनेछ पृथ्वी
भयानक तापबाट

जसरी समस्या निर्मुल हुनेछ निकटताको
मिलन बिन्दुबाट

त्यसैले,आफैँमा परिपुर्ण हुन
जरूरी छ त्यागको अध्यायको साक्षी हुन
जरूरी छ म को मोहलाई त्याग्न
जरूरी छ मौनताको भाषा बुझ्न
जरूरी छ चेतनाको आगोले पोल्न

प्रिय, प्राणको महत्त्व बुझ्न सजिलो कहाँ छ र
मनको कालोले मुहार मात्रै हैन जीवन पनि कालो
बनाइदिन्छ ।

त्यसैले, मलाई बुझ्न तिमी म भएर आउनु
तिमीलाई बुझ्न म तिमी भएर आँउछु
अनि मात्र हाम्रो मिलन सार्थक हुनेछ ।