राज्यबाट उपचारका लागि कसले कति लिए, श्वेतपत्र जारी गरियोस् : सांसद खतिवडा

राज्यबाट उपचारका लागि कसले कति लिए, श्वेतपत्र जारी गरियोस् : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्यबाट नेताहरुले उपचारका लागि करोडौँ रुपैयाँ लिने तर नागरिकले साधारण औषधोपचारसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्दा स्थानीय तहका स्वास्थ्य संस्थाको गुणस्तर वृद्धिमा ध्यान पुर्‍याउन नसकेको बताए ।

उनले भने, ‘स्वास्थ्यलाई हामी धनको रुपमा बुझ्छौँ । तर स्वास्थ्यका लागि धनको असमान वितरण हुँदै आएको छ । यो विषय बारम्बार चर्चामा समेत आउने गर्छ, सरकारलाई मेरो आग्रह छ कि २०४६ सालपछि अहिलेसम्म उपचारका लागि राज्यबाट क–कसले कति पैसा खर्च लिए ? त्यसको विवरण समेटेर एउटा श्वेतपत्र जारी गरियोस् ।’

‘नागरिक स्थानीय तहमै छन् । त्यहाँ आधारभूत स्वास्थ्य सेवा पनि उपलब्ध छैन । एउटा गरिब नागरिक गाउँमा सिटामोल नपाएर मरिरहेको छ, तर नेताहरूले उपचारका लागि राज्यबाट करोडौं रुपैयाँ लिने, पदमा बसिसकेपछि निस्किने बेला एउटा घर, र पजेँरो नभएसम्म निस्किनै मान्दैन,’ उनले भने, ‘नेताले राज्यबाट करोडौं सुविधा लिने, नागरिकले सिटामोल नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’

उनले सरकारले स्थानीय स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्ति र औषधिको उपलब्धताको सुनिश्चितता गर्नुपर्ने बताए ।