नेपालभर नै राेकियाे ‘आदिपुरुष’को प्रदर्शन

नेपालभर नै राेकियाे ‘आदिपुरुष’को प्रदर्शन



काठमाडौं । ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोकेकाे छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएकाेले सबैतिर फिल्मको प्रदर्शन रोकिएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेकोप्रति भने राठीले आपत्ति जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।

चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ । मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए ।

सिता भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए । तर नसच्याइएको भन्दै सोमबारदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय उनले गरेका छन् ।