कोसी प्रदेशमा बाढीपहिरोमा परेर आठजनाको मृत्यु, २८ बेपत्ता

कोसी प्रदेशमा बाढीपहिरोमा परेर आठजनाको मृत्यु, २८ बेपत्ता



विराटनगर । अविरल वर्षासँगै कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म आठजनाको मृत्यु भएको छ । ती घटनामा परी नौजना घाइते भएका छन् भने २८ जना बेपत्ता छन् ।

गएको शनिबारयताको बाढीपहिरोमा परी आठजनाको मृत्यु पुष्टि भएको कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङमा तीन, पाँचथरमा दुई, भोजपुर र संखुवासभामा एक/एकजनाको मृत्यु भएको छ । तीमध्ये पाँचजना पहिरोमा पुरिएका थिए । दुईजनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा भोजपुरको ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथरको फालेलुङ–४ का आठ वर्षीया जुना साउदेन, पाँचथरकै फिदिम–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङको फिदिङ्वा–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् ।

उता, धनकुटास्थित तमोर नदीमा पाँचथरकी २५ वर्षीया एलिसा माझीको शव फेलापरेको प्रहरीले जनाएको छ ।

कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङबोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले आइतबार बाढीपहिरो प्रभावित जिल्लाको हेलिकोप्टरबाट निरीक्षण गरेको थियो । बाढीका कारण विभिन्न भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

पाँचथरमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।

त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।