काठमाडौँ । अर्थ समितिले रोक्का गरेको ब्रोकर लाइसेन्सको प्रक्रिया खोलेको छ। मङ्गलवार बसेको समितिको बैठकले ब्रोकर लाइसेन्सको प्रक्रिया खोल्ने निर्णय गरेको हो। जेठ २९ गतेको बैठकले अनुमति प्रक्रिया रोक्का गरेको थियो । समितिले ब्रोकर अनुमति प्रक्रियाबारे परेको उजुरीको आधारमा धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो।
छलफल गर्न अनावश्यक : सांसद कार्की
नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले ब्रोकर लाइसेन्सबारे सर्वोच्च अदालतले निर्णय गरिसकेको हुँदा थप छलफल गर्न अनावश्यक भएको बताएका छन् । मङ्गलवार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले ब्रोकर लाइसेन्सबारे सर्वोच्चले निर्णय गरिसकेको बताएका हुन् ।
ब्रोकर अनुमतिमा जीवन्त छलफल भइसकेको बताउँदै सहज परिवेश र सहज बहिर्गमनको व्यवस्था भएको उनको भनाइ छ । त्यसैले यसमाथि थप छलफल गर्न आवश्यक नभएको उनले बताए । यस्तै उनले प्रत्येक उजुरीको आधारमा समितिको बैठक बस्न नपर्ने पनि बताए। समिति सचिवालयले प्राप्त गरेको उजुरीको छानबिन गरेर मात्रै बैठकमा पेस गर्नुपर्ने पनि सुझाव दिए।
प्रतिक्रिया