पूर्वी पहाडमा बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता : गृहमन्त्री

पूर्वी पहाडमा बाढीपहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता : गृहमन्त्री



काठमाडौं । २ असारमा आएको बाढीपहिरोका कारण पूर्वी पहाडमा हालसम्म १० जनाको मृत्यु भएको छ । संसदमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले शंखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा बाढी पहिरोको क्षतिबारे जानकारी गराएका हुन् ।

उनका अनुसार ६ जना घाइते र २६ जना बेपत्ता भएका छन् । ५४ घर पूर्ण रूपमा क्षति भएको उनले सदनलाई जानकारी गराए । ‘असार २ गते पूर्वी भागमा अत्यधिक वर्षा भयो । बाढीपहिरोबाट धेरै जनधनको क्षति हुन पुगेको छ,’ उनले भने ।

राहत तथा उद्धारका लागि सबै निकायलाई निर्देशन दिइएको उनले बताए । बेपत्ता भएकाको खोजी जारी रहेको उनले बताए । ‘क्षतिको विवरण अझै आउने क्रम जारी छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली पनि हिजो प्रभावित क्षेत्रमा पुगेको थियो ।

त्यसैगरी सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिएको जनाएको छ ।

संसदमा गृहमन्त्री श्रेष्ठले एक जनाको मृत्यु भएमा १ लाख र परिवारको अर्को सदस्यको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख राहत उपलब्ध गराउने बताए ।

घरबास नभएकालाई तत्कालका लागि २० हजार रुपैयाँ उपलब्ध गराएको पनि उनले बताए ।