साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित



काठमाडौं । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको हो ।

भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे ।

नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए ।

२३औँ मिनेटमा फवाज अलोटाइबीले प्रहार गरेको कर्नरबाट आएको बलमा कप्तान हाजियाले हेडमार्फत गोल गरेका थिए ।

४१औँ मिनेटमा कुवेतका सबाइब अलखाल्दीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारेका थिए । अलखाल्दीले बायाँतर्फबाट आएको लोअर क्रसलाई नियन्त्रणमा लिँदै नेपाली टिमबाट रक्षापंक्तिमा रहेका विमल पाण्डेको चुनौतीलाई सहजै बिट गर्दै कुवेतका लागि दोस्रो गोल गरेका हुन् ।

६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० सहज स्थितिमा पुर्‍याएका थिए ।

६८औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई खेलमा फर्किने आश दिलाएका थिए ।

नेपालले अब असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्ने छ । च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।