वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

वेस्ट इन्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य



काठमाडौं । कप्तान साई होप र निकालेस पुरनको २१६ रनको साझेदारीप्रेरित वेस्ट इन्डिजले आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालसामु ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार जिम्बाब्वेका हरारेस्थित हरारे स्पोर्ट्स क्लमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गर्यो ।

वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

नेपालले सुरुआत राम्रो गरेको थियो । पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए ।

पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चाल्र्सलाई आउट गराएका थिए । तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

चौथो विकेटका लागि कप्तान शाई होप र निकोलस पुरनले १ सय ७२ बलमा २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।

पुरनले दुई पटक जीवनदान पाएका थिए । पहिलो पटक ललितको बलमा विकेटकिपर आसिफ शेखले एज लागेको बल क्याच मिस गरेका थिए । दोस्रो पटक पनि आसिफले नै करण केसीको बलमा क्याच मिस गरेका थिए ।

पहिलो पटक जीवनदान पाउँदा पुरन ३ रनमा खेलिरहेका थिए । दोस्रो जीवनदानमा भने पुरन ५४ रनमा खेलिरहेका थिए ।

पुरन आउट भए लगत्तै क्रिजमा आएका रोभमन पावलले कप्तान होपसँग मिलेर १९ बलमा ३९ रनको साझदारी गरे । १४ बलमा २९ रन बनाउँदै पावेल ललितनारायण राजवंशीको बलमा आउट भएका थिए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।