काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन



काठमाडौं । शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्किएको छ । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई पुनः रिलिज गरेका हुन् ।

अधिकांश हलले विक्की कौशल र सारा अली खान स्टार फिल्मको शो प्रकाशित गरेका छन् । नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अदालतले सेन्सर पास भैसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश दिएसँगै ‘आदिपुरुष’को प्रदर्शनको लागि पनि बाटो खुलेको छ । तर, वितरक ब्यांकटेस इन्टरटेनमेन्टले यसबारे कुनै निर्णय नभैसकेको बताएको छ ।