ढकालको नेतृत्वमा रास्वपाको राजनीतिक दस्तावेज पुनर्लेखन कार्यदल

ढकालको नेतृत्वमा रास्वपाको राजनीतिक दस्तावेज पुनर्लेखन कार्यदल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेज पुनर्लेखनका लागि पार्टीका महासचिव मुकुल ढकालको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको छ ।

यसअघि ढकाल नेतृत्वकै कार्यदलले तयार गरेको प्रस्तावित राजनीतिक दस्तावेज सार्वजनिक भएपछि पार्टीका नेताहरु पुनर्लेखनको माग गरेका थिए । आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेज बाहिरिएपछि छानबिनको माग गर्दै पार्टीकै नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

पार्टीभित्र पुनर्लेखनको माग चर्को रुपमा उठेपछि दस्तावेजको पहिलो मस्यौदामा आवश्यक छलफल एवं संशोधन गरी दोस्रो मस्यौदा तयार पार्न पार्टीका महासचिव एवं नीति तथा विचार विभाग प्रमुख डा. मुकुल ढकालको संयोजकत्वमा कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ ।

१७ सदस्यीय प्रतिनिधिमण्डलमा संयोजक ढकालका साथै रमेश प्रसाईं, कमल सुवेदी, गणेश पराजुली, विपिन कुमार आचार्य, शिशिर खनाल, क्रान्तिशिखा धिताल, कबिन्द्र बुर्लाकोटी, डा. तोसिमा कार्की, शंकर श्रेष्ठ छन् । यस्तै, हरि ढकाल, गणेश कार्की, मनिष झा, सुमना श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार र सोविता गौतम सदस्य छन् ।

महासचिव ढकाल नेतृत्वको टिमले गएको साता आन्तरिक छलफलका लागि भन्दै ६२ पृष्ठको राजनीतिक प्रतिवेदन तयार पारेको थियो । पार्टी स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा यही असार ७ गते दस्तावेज सार्वजनिक गर्ने तयारी थियो । तर, समयअगावै दस्तावेज सार्वजनिक भएपछि छानबिन गरी पुनर्लेखन गरिनुपर्ने असन्तुष्ट पक्षले माग गरेको थियो ।