नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका आरोपी थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । प्रहरीका अनुसार शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको थियो ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ क्रमश: ५ लाख र १० लाख धरौटीमा छाड्दै बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहित ११ जना अझै फरार छन् ।

प्रकरणमा किर्ते र राज्यविरुद्धको अपराधसमेत जोडेर ४ वटा कसुरमा दायर मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।