काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउँदै नेपालले साफ च्याम्पियनसिप–२०२३ को सुखद अन्त्य गरेको छ ।
मंगलबार भारतको बेंग्लुरुस्थित श्री कान्तिराभा रंगशालामा सम्पन्न खेलमा आशीष चौधरीले गरेको गोल निर्णायक बन्दा नेपालले पाकिस्तानविरुद्ध १–० को साँघुरो जित निकालेको हो । ८०औँ मिनेटमा आशीषले पाकिस्तानको डेड लक तोड्दै नेपाललाई अग्रता दिलाएका थिए । १८ यार्ड बक्सबाहिर लाकेनले मिलाएको बलमा आशीषले उत्कृष्ट गोल गरेका थिए ।
नेपालका लागि आशीषको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसका लागि नेपालले निकै संघर्ष गर्नुपर्यो ।
पाकिस्तानको फुटबलमा भने यो अर्को खराब नतिजाको रुपमा रहनेछ । किनकी यस साफमा समूह्यको सबै तीन खेलमा पराजित भएको पाकिस्तानले लगातार १२ खेलमा हार व्यहोरेको हो ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो खेल यस संस्करणको अन्तिम खेल हो । यसअघि दुई खेलमा हार बेहोरेको नेपाल र पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेपालले यसअघि पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा भारतसँग २–० को हार बेहोरेको थियो ।
पाकिस्तानले भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० को हार बेहोरेको थियो । यो समूहबाट भारत र आमन्त्रित टिम कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर, समूह विजेता र उपविजेताको टुंगो भने आजै साँझ ७ः४५ बजेदेखि हुने खेलबाट लाग्ने छ ।
च्याम्पियनसिपमा यो पटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।
सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारतसँगै पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।



प्रतिक्रिया