संशोधनबिनै आज बजेट पास हुने

संशोधनबिनै आज बजेट पास हुने


ग्लोब नेपाल
243
Shares

काठमाडौं । सत्तारुढ दलभित्रैबाट चर्को आलोचना भए पनि सरकारले आगामी आर्थिक वर्षको बजेट संशोधनबिनै आज प्रतिनिधिसभाबाट पास गराउँदैछ । त्यसका लागि बिहान ११ प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएपछि बजेट पास हुनेछ ।

प्रधानमन्त्री दाहालले बजेटअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचीमा छ ।

यस्तै सभामुख देवराज घिमिरेले विभिन्न मन्त्रालयहरुको विभिन्न शीर्षकमा सांसदहरुले प्रस्तुत गरेको खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्नेछन् । संसद सचिवालयकाअनुसार २७ जना सांसदले विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव गरेका छन् ।

यसपछि विनियोजन विधेयक २०८० का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै उनले आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यसपछि आर्थिक विधेयक २०८० माथि दफावार छलफलको लागि दिन तोकिने छ । अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री महतले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफलमा मात्रै नभएर बैठक नै बसेर यथास्थितिमा पारित गर्न नदिने बताएका दलहरू पनि बिनासंशोधन बजेट पारितका लागि तयार भएका छन् ।