काठमाडौं । नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो ।
जितसँगै समूह ‘ए’मा रहेको नेपाल समूहको दोस्रो खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । थाइल्यान्डले यसअघि पहिलो खेलमा मलेसियासँग हार बेहोरेको हुँदा पहिलो जितबाटै नेपाल र मलेसिया सेमिफाइनल प्रवेश गरेका हुन् ।
थाइल्यान्डका इसान बनेर्जीले १६ र ओपनर दनुफोन फुयंगयोटपिनिटले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्यान्डका आठ ब्याटर शून्यमा आउट भएका थिए । जसमध्ये दुई ‘गोल्डेन डक’ भए ।
थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्तोष यादवले पाँच विकेट लिए । घातक बलिङ गरेका सन्तोषले ३.२ ओभरमा एक मेडन राख्दै आठ रनमात्र खर्चिए । अशोक धामीले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका अशोकले दुई मेडन राख्दै चार रनमात्र खर्चिए । अभिषेक तिवारीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै २१ रन खर्चिए ।
त्यसअघि, पहिले ब्याटिङमा आएको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २६९ रनको योगफल खडा गरेको थियो । नेपालका निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाएका थिए । नरेनले अविजित ५५ रन जोड्दा सन्तोष यादव र सुर्यान्सु कोइरालाले ४० रन थपे ।
थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान दुई तथा जित सादा र पियावत नेद्रीले समान एक विकेट लिए ।
जितसँगै सेमिफाइनल प्रवेश गरेको नेपालले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार मलेसियाविरुद्ध खेल्नेछ । यो खेलबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल, मलेसिया र थाइल्यान्ड तथा समूह ‘बी’मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन् ।


प्रतिक्रिया