नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य



काठमाडौं । गुल्सन झाको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानको खेलमा आयरल्यान्डविरुद्ध नेपालले २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २६८ रनको योगफल खडा गर्यो ।

नेपालका लागि गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।

सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । कप्तान रोहित पौडेलले ३५ बलमा २९ तथा भीम सार्कीले २० रन बनाए ।

आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।

नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्ने तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको थियो ।

पहिलो ओडिआई भेटमा नै आयरल्यान्डलाई पराजित गर्ने लक्ष्यमा नेपाल रहेको छ ।