‘थुनामा बस्नु नपर्ने’ आदेश खारेजीको माग गर्दै सीआइबीले सर्वोच्चमा दियो निवेदन

‘थुनामा बस्नु नपर्ने’ आदेश खारेजीको माग गर्दै सीआइबीले सर्वोच्चमा दियो निवेदन



काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको छ । १७ जनाले आफूलाई पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै दिएको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

उक्त रिटको अन्तिम किनारा नलागेका कारण गत साता पक्राउ परे पनि कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीलाई प्रहरीले तत्कालै छाड्नुपरेको थियो । उनीहरूले विगतमा अन्तरिम आदेश लिएका कारण प्रहरीले उनीहरूलाई छाडेको थियो ।

यो अन्तरिम आदेश कायमै रहेको अवस्थामा अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने व्यक्तिहरूलाई पक्राउ गर्नै नपाउने अवस्था आएपछि प्रहरीले महान्यायाधिवक्तामार्फत मंगलबार सर्वोच्चमा निवेदन दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले २०७९ साउन १९ मै अनुसन्धानका क्रममा उनीहरूसहित १७ जनालाई थुनामा बस्नु नपर्ने गरी आदेश दिएको थियो । यही आदेश खारेजीको माग गर्दै प्रहरीले निवेदन दिएको हो ।