कोशी प्रदेशसभामा माओवादीभित्र विद्रोह

कोशी प्रदेशसभामा माओवादीभित्र विद्रोह



काठमाडौं । कोशी प्रदेशमा माओवादीभित्रको आन्तरिक द्वन्द्व छताछुल्ल भएको छ । शनिबारसाँझ बनेको सहमति आइतबार बिहान तोडिएपछि माओवादीभित्रको अन्तरद्वन्द्व छताछुल्ल भएको हो ।

उद्धव थापा मन्त्रिमण्डलमा माओवादीका तर्फबाट मन्त्री बन्नेको सूचि शनिबार साँझ तय भएको थियो । त्यसमा उदयपुरबाट निर्वाचित नारायणबहादुर बुर्जा मगरको पनि नाम थियो । तर आइतबार बिहान सपथग्रहणका बेला मगरको नाम काटेर संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीलाई मन्त्रीको सपथ गराइयो ।

उदयपुर निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित मगरले योसहित तेस्रो पटक मन्त्री बनाइने आश्वासन पाएका थिए । उदयपुरको यो निर्वाचन क्षेत्र विकासको दृष्टिकोणले पछाडि परेको र जनजाति बाहुल्य क्षेत्र पनि हो । अघिल्लो दुई पटकसम्म चुपचाप बसेका मगरले यसपटक भने मुखै खोलेर नेतृत्वको विरोध गरेका छन् । उनले विरोध मात्र गरेका छैनन्, सांसद पदबाट राजीनामा दिनेसमेत चेतावनी दिएका छन् ।

राजेन्द्र राई र हिक्मत कार्की मुख्यमन्त्री भएको बेला पनि माओवादी पार्टीले मगरलाई मन्त्री बनाउन अघि सारेको थियो । तर अन्तिममा आएपछि उनको नाम मन्त्रीको लिस्टबाट काटिन्थ्यो । राजनीतिक रुपमा सरल सादगी परिचय बनाएका मगर उदयपुरका जनजातिमाँझ लोकप्रिय मानिन्छन् । यसपटक स्थानीयहरु मगरलाई मन्त्रीका रुपमा स्वागत गर्न ब्यग्र थिए ।

तर, आज आइतबार बिहान मगरको नाम मन्त्रीको लिस्टबाट हटिसकेको थियो । ‘शनिबार साँझ जीवन आचार्यको नेतृत्वमा सरकारमा जाने सहमति बनेको थियो, मन्त्रीको लिस्टमा मेरा बुवाको पनि नाम थियो, आइतबार बिहान सपथ गर्नेबेला अर्कैको नाम आएछ’ सांसद मगरका छोरा उमेश मगरले भने, ‘मेरा बुवाप्रति पार्टीभित्र पटक पटक षड्यन्त्र भएको छ, यो राम्रो कुरा होइन । यसले पार्टीलाई हित गर्दैन ।’

सांसद पदबाट राजीनामा दिने कुरा आएको छ नि भन्ने ग्लोब नेपालको जिज्ञासामा उमेशले भने, ‘यो परिस्थितिको उपज हो, त्योभन्दा बढी म बोल्दिनँ ।’

मगरको स्थानमा कार्की किन ?
माओवादीले उदयपुरबाटै निर्वाचित रामकुमार खत्रीलाई मन्त्री बनाइएको छ । एउटै निर्वाचन क्षेत्रबाट दुईजनालाई मन्त्री बनाउन सम्भावना नहुने देखाउनका लागि खत्रीलाई मन्त्री बनाइएको हो । मगर जनमोर्चा पृष्ठभूमिका हुन्, उनको मुख्य नेता नारायणकाजी श्रेष्ठ यतिबेला गृहमन्त्री छन् ।

मगरको स्थानमा संखुवासभाका कार्कीलाई मन्त्रीको सपथ खुवाइएको छ । कार्की पहिला विप्लप नजिक र अहिले ऊर्जामन्त्री शक्ति बस्नेतका नजिकका मानिन्छन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल गृहमन्त्री श्रेष्ठभन्दा ऊर्जामन्त्री बस्नेतका कुरा बढी सुन्छन् । त्यसैले अध्यक्ष तथा प्रधानमन्त्री दाहालकै निर्देशनमा मगरको नाम काटेर कार्कीको नाम मन्त्रीमा अनुमोदन भएको समाचार स्रोतले बतायो ।