काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘मागबमोजिम नहुने’ भनी आदेश गरेको हो ।
यो आदेशपछि मेयर शाह हरेक पटक आफैं अदालतमा उपस्थित भएर मुद्दाको तारिख लिनुपर्नेछ भने सुनुवाइका दिन अदालतमा अनिवार्य उपस्थित हुनुपर्नेछ । वारिस राख्ने सुविधा पाएको भए उनले मञ्जुरीनामा दिएको व्यक्तिले पनि तारिख लिन सक्थ्यो ।
भारतीय सिनेमा चलाउन दिन रोक लगाएकोवारे परेको एक मुद्दामा उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि मेयर शाहले अदालत समेत भारतको प्रभावमा परेर आदेश गरेको भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।
त्यो टिप्पणीमाथि प्रश्न उठाइ अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शाहमाथि अदालतको अवहेलनाको आरोपमा उजुरी दिएकी थिइन् । सर्वोच्च अदालतले शाहलाई यसवारे जवाफ पठाउन आदेश दिइसकेको छ ।
प्रतिक्रिया