सहकारी पीडित र प्रहरीबीच झडप

सहकारी पीडित र प्रहरीबीच झडप



काठमाडौं । सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान माइतीघर क्षेत्रमा र्‍याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए ।

माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।

उनीहरु २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका छन् ।