केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश

केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा काठमाडौं–३० असनका तुलाधर बुधवार पक्राउ परेका थिए । फरार सूचीमा रहेका तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले जानकारी दिए । तुलाधरले अदालतले तोकेको धरौटी बुझाएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

जसमध्ये कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।